अवैध रूपमा नेपाल ल्याइएको करिब डेढ किलो सुनसहित भारतीय पक्राउ

अवैध रूपमा नेपाल ल्याइएको करिब डेढ किलो सुनसहित भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ असोज २०८३
  • 646
    Shares

काठमाडौं, ३ असोज २०८३ ।

काठमाण्डौको न्युरोडबाट करिब डेढ किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौंको न्युरोड क्षेत्रमा अवैध रूपमा ल्याइएको सुनका गरगहना भण्डारण तथा बिक्री–वितरण गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भारतको पश्चिम बंगाल, कोलकाता, हुगली जंगीपारा बजार घर भएका ४१ वर्षीय मानिक दासलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–२६, भेडासिंहमा कोठा भाडामा लिएर बस्दै आएका दासले न्युरोड क्षेत्रमा स्रोत नखुलेका सुनका गरगहना भण्डारण तथा कारोबार भइरहेको विशेष सूचना पाएपछि प्रहरीले निगरानी र अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा गएको बिहिबार दासको भेडासिंहस्थित कोठामा छापा मार्ने क्रममा उनको कोठाबाट एक किलो ४६६ दशमलव ६८ ग्राम तौलका सुनका विभिन्न गरगहना तथा धातुका टुक्रा बरामद भएका छन्। साथै, प्रहरीले सात लाख ५६ हजार रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ।

बरामद सामग्रीमा बाला, धातुका टुक्रा, पाता, औँठी, सिक्री, माला, पत्थर जडित औँठी, टप, लकेट, झुम्का, मंगलसूत्र, हल्कलगायत विभिन्न प्रकारका गरगहना रहेका छन्।

प्रहरीका अनुसार बरामद सामग्रीमध्ये दुईवटा बाला, ३२ वटा धातुका टुक्रा, तीनवटा बेन्चा औँठी, ४९ वटा सिक्री, चारवटा माला, १८ वटा पत्थर जडित औँठी, १० वटा टप, ११ वटा टप तथा लकेट, १० वटा झुम्का र ३० वटा मंगलसूत्रलगायत छन्।

गरगहनामा पत्थर, धागो तथा अन्य धातुसमेत जडान भएकाले बरामद सामग्रीमा वास्तविक सुनको मात्रा र शुद्धता प्राविधिक परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा दासले बरामद सुन तथा गरगहनाको वैधानिक खरिद–बिक्रीसम्बन्धी बिल, भन्सार प्रज्ञापनपत्र वा स्रोत खुल्ने आधिकारिक कागजात तत्काल पेस गर्न नसकेको प्रहरीले जनाएको छ। बरामद नगदको स्रोतसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनामा बरामद सामग्री र नगदको स्रोत, नेपालमा भित्र्याउने माध्यम तथा सम्भावित आपूर्ति सञ्जालबारे अनुसन्धान गरिरहेको छ। साथै, यस कारोबारमा अन्य व्यापारी, बिचौलिया वा समूहको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।

पक्राउ परेका दास तथा बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

बरामद वस्तु वास्तविक सुन भए/नभएको, त्यसको शुद्धता तथा वैधानिक रूपमा नेपाल भित्र्याइएको हो वा भन्सार छलेर ल्याइएको हो भन्ने विषय परीक्षण र अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया