काठमाडौं, ३ असोज २०८३ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै साढे दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
नेपाल सरकार र इजरायल सरकारबीच भएको Government to Government (G to G) सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाउने प्रक्रियामा सहभागी भइसकेका व्यक्तिहरूलाई लक्षित गरी ठगी गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सन् २०२४ मा नेपाल सरकारले इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउन लिएको परीक्षामा सहभागीमध्ये लक्की ड्रमा छनोट हुन नसकेका एकसय ५६ जनालाई इजरायल पठाइदिने भन्दै रकम लिइएको थियो।
आरोपितहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी पीडितहरूलाई विश्वासमा लिएको र प्रति व्यक्ति ६ लाख २० हजार रुपैयाँ मागेको प्रहरीको भनाइ छ। सोही क्रममा पीडितहरूबाट कुल दुई करोड ५० लाख रुपैयाँ उठाएर बेइमानीपूर्वक ठगी गरेको भन्दै उनीहरूविरुद्ध जाहेरी परेको थियो।
पीडितहरूको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले आरोपितहरूलाई २०८३ असोज १ गते पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट कानुनबमोजिम म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए–नभएको तथा ठगी गरिएको रकमको कारोबारलगायतका विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।