दुई करोड ४० लाख रुपियाँमा बन्यो पोखराको सराङकोटमा प्रहरी चौकी भवन

दुई करोड ४० लाख रुपियाँमा बन्यो पोखराको सराङकोटमा प्रहरी चौकी भवन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असोज २०८३
  • 551
    Shares

दुई करोड ४० लाख रुपियाँमा बन्यो पोखराको सराङकोटमा प्रहरी चौकी भवन

पोखरा, २ असोज २०८३ ।

पोखरा महानगरपालिका–१८ सराङकोट चपाई चौतारामा नवनिर्मित प्रहरी चौकी सराङकोटको भवन उद्घाटन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले बुधबार एक कार्यक्रमबीच प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरेका हुन्।

गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटबाट दुई करोड ४० लाख ४५ हजार ९ सय ८३ रुपैयाँ ६३ पैसा लागतमा प्रहरी चौकीको भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि २०८१ असार २३ गते सम्झौता गरिएको थियो।

निर्माण सम्पन्न भएको प्रहरी चौकी परिसरमा कार्यालय भवनसँगै मेस भवन, शौचालय, प्रतीक्षालय, प्रवेशद्वार (गेट) तथा पेरिमिटर निर्माण गरिएको छ।

सराङकोट पछिल्लो समय पोखराको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्याराग्लाइडिङ, केबलकार, धार्मिक तथा पर्यटकीय स्थलका साथै ठूला होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा आएसँगै यस क्षेत्रमा पर्यटक तथा आगन्तुकको चापसमेत बढ्दो छ। यस्तो अवस्थामा नवनिर्मित प्रहरी चौकीले शान्ति सुरक्षा कायम गर्न तथा प्रहरी सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने डीआईजी क्षेत्रीले बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

नवनिर्मित भवन सञ्चालनमा आएसँगै सराङकोट क्षेत्रमा प्रहरीको सेवा प्रवाह थप व्यवस्थित हुने तथा स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया