काठमाडौँ, २ असोज २०८३।
बिरामी जिउँदो कुकुरलाई सेती नदीमा फालेको आरोपमा बझाङमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकाया रहेकी छन्।
रोकायालाई जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कुकुर करिब दुई सातादेखि बिरामी रहेको थियो। कुकुरको शरीरको पछाडिको भाग पाकेको र दुर्गन्ध आउने गरेको बताइएको छ। बिरामी कुकुरले घरनजिकैको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि आफूले नदीमा फालेको रोकायाले प्रहरीसमक्ष बताएको विवरण सार्वजनिक भएको छ।
घटनापछि रोकायालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ। कुकुरलाई नदीमा फाल्नुको वास्तविक कारण, घटनाको विस्तृत अवस्था तथा अन्य कानुनी पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेक जोराले बताएका छन्। घटनाबारे सार्वजनिक विवरणमा कुकुरको त्यसपछिको अवस्थाबारे भने स्पष्ट जानकारी दिइएको छैन।