चितवन, , १ असोज २०८३।
चितवनको भरतपुरमा गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका–२, आँपटारीबाट २५ वर्षीय भारतीय नागरिक काथराम निथिनलाई गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार निथिनले आँपटारीमा निर्मला विष्टको घरमा कोठा भाडामा लिएर अन्तर्राष्ट्रिय आगमन कललाई अवैध रूपमा बाइपास गर्दै आएका थिए। नेपाल टेलिकम र एनसेलसँगको प्राविधिक समन्वयमा प्रहरीले उक्त स्थान पहिचान गरी छापा मारेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा अवैध भीओआईपी सञ्चालनका कारण राज्य तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई ठूलो राजस्व नोक्सानी भइरहेको खुलेको प्रहरीको भनाइ छ।
छापा मार्ने क्रममा प्रहरीले भीओआईपी सञ्चालनमा प्रयोग भएको ठूलो परिमाणमा प्राविधिक उपकरण बरामद गरेको छ। बरामद सामग्रीमा विभिन्न कम्पनीका २६ थान मोबाइल, २ थान ल्यापटप, एनसेलका ७७ र नेपाल टेलिकमका १८ गरी ९५ थान सिमकार्ड रहेका छन्।
त्यस्तै, ४ थान सीपीयू, १ थान इन्भर्टर, २ थान ब्याट्री, २० पोर्टका ६ थान यूएसबी हब, ३३ थान यूएसबी सेलुलर मोडेम, ३० थान यूएसबी ओटीजी–टु–अडियो केबल, ५ पोर्टको नेटवर्क स्विच, २ थान इन्टरनेट राउटर तथा विभिन्न प्रकारका डेटा केबलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका निथिनविरुद्ध दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले जानकारी दिए।
घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको तथा अवैध गतिविधिबाट भएको आर्थिक क्षतिको यकिन विवरण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ।