काठमाडौँ, १ असोज २०८३।
नेपाली कांग्रेस रामेछापका जिल्ला नेता भरत चौलागाईं बिहीबार साँझ रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ परेका छन्।
कांग्रेसको संस्थापन पक्षनिकट चौलागाईं पार्टीको १५औँ महाधिवेशन तयारी बैठकमा सहभागी हुन मन्थली पुगेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो।
उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुल गरेको आरोपमा चौलागाईंलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
सीआईबीले रकम असुलीका लागि गरिएको भनिएको डिलसम्बन्धी अडियोसमेत फेला पारेको जनाएको छ। घटनाबारे थप प्रमाण तथा अडियोको सत्यता परीक्षण गर्ने काम भइरहेको एआईजी चतुर्वेदीले बताएका छन्।
चतुर्वेदीका अनुसार अनुसन्धानका क्रममा केही प्रमाण फेला परेकाले त्यसको भेरिफिकेसन गर्न चौलागाईंलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चौलागाईंलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइने सीआईबीले जनाएको छ। घटनामा संलग्नता, रकम असुलीको प्रकृति तथा अडियोको वास्तविकताबारे थप अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।