काठमाडौँ, १ असोज २०८३।
काठमाडौं बालाजु माछापोखरीमा प्रधान कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका उक्त सहकारीका तात्कालिन अध्यक्ष महाशंकर रेग्मी काठमाडौंबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोप लागेका बझाङको छविसपाथिभेरा गाउँपालिका-४ झुटेडा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका-८ शान्ति टोल बस्ने उक्त सहकारीका तात्कालिन अध्यक्ष ३६ वर्षीय महाशंकर रेग्मीलाई काठमाण्डौको चण्डोल क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउपछि थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त बालाजु, काठमाडौँ पठाइएको सीआईबिले जानकारी दिएको छ।
मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा विभिन्न जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै आएको छ।
प्रहरी वृत्त बौद्धमार्फत अनुसन्धान गरिएको ठगीसम्बन्धी कसुरमा रामचन्द्र सिपाईंसहित एकसय ६२ जनाको जाहेरी परेको थियो। उक्त जाहेरीमा २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ रकम हिनामिना भएको उल्लेख छ।
त्यस्तै, थप ५९ जनाको जाहेरीका आधारमा दुई करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना भएको आरोपमा पनि अनुसन्धान भइरहेको छ।
प्रहरी वृत्त बालाजु, काठमाडौंमार्फत अनुसन्धान गरिएको अर्को ठगीसम्बन्धी कसुरमा एकसय ५६ जनाको जाहेरी परेको थियो। उक्त जाहेरीमा १५ करोड चारलाख ८६ हजार तीन रुपैयाँ ६५ पैसा बिगो रकम हिनामिना भएको दाबी गरिएको छ। सिआइबीका अनुसार यी घटनामा संलग्न प्रतिवादीमध्ये रेग्मी अनुसन्धानकै क्रममा फरार रहेका थिए।
प्रहरी वृत्त बालाजुमा हालसम्म थप ४६ जनाको जाहेरी प्राप्त भएको सिआइबीले जनाएको छ। उक्त जाहेरीका आधारमा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थाको शनिबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले महाशंकर रेग्मीको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति बनाएको थियो।