एकअर्ब ३४ करोडको अवैध हुन्डी कारोबारमा संलग्न आरोपमा धनुषाबाट मुखिया पक्राउ

एकअर्ब ३४ करोडको अवैध हुन्डी कारोबारमा संलग्न आरोपमा धनुषाबाट मुखिया पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असोज २०८३
  • 551
    Shares

काठमाडौँ, १ असोज २०८३।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एकअर्ब ३४ करोड ७८ लाख ३९ हजार ३४४ रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट २४ वर्षीय एक युवालाई पक्राउ गरेको छ।

सिआइबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई धनुषाको शहीदनगर नगरपालिका-४ घर भएका २४ वर्षीय अजयकुमार मुखियालाई धनुषाको शहीदनगर नगरपालिका-८ बाट मंगलबार साँझ पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी हालसम्म एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार ३४४ रुपैयाँ बराबरको अवैध हुन्डी कारोबार भएको पुष्टि भएको ब्युरोले जनाएको छ।

सिआइबीका अनुसार पक्राउ परेका मुखियामाथि हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको छ। साथै, अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान समेत तीव्र पारिएको प्रहरीले जनाएको छ।

हुन्डी कारोबारमार्फत विदेशबाट नेपालमा रकम भित्र्याउने तथा नेपालबाट विदेशमा रकम पठाउने गतिविधि हुँदै आएको विषयमा सिआइबीले अनुसन्धान गर्दै आएको छ। यस्तो कारोबारले औपचारिक वित्तीय प्रणाली बाहिर रकमको कारोबार हुने भएकाले यसमा संलग्न व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया