काठमाडौँ, १ असोज २०८३।
यातायात व्यवस्था विभागले निश्चित सीमा र शर्त तोकेर आजदेखि लागू हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनको नयाँ दर्ता खुला गरेको छ।
विभागले भदौ ३० गते देशका सातै वटा प्रदेशका पूर्वाधार मन्त्रालयहरूलाई पत्राचार गर्दै काठमाडौँ उपत्यका बाहिरको रुट तथा सवारीसाधन व्यवस्थापनका लागि दर्ता शुरु गर्ने निर्णय गरेको हो।
यस प्रक्रियामा खासगरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ। नयाँ व्यवस्थाअनुसार आजदेखि काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधन दर्ता गर्न पाइनेछ र दर्ताका क्रममा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने छ।
विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौँ उपत्यकाभित्र भने सबै प्रकारका सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र स्कुल बस र सट्टाभर्नाको हकमा मात्र दर्ता खुला गरिएको छ।
यसअघि विभागले गत जेठ ७ गते सूचना जारी गर्दै नेपालमा पैठारी हुने सार्वजनिक सवारीको दर्ता रोकेको थियो। चार महिनापछि सार्वजनिक सवारीको दर्ता खुलाइएको हो। त्यसपछि साउन १८ गते मालवाहक सवारीको दर्ता खुला गरिए पनि यात्रुवाहक सवारीको दर्ता भने बन्द नै रहेको थियो।
विभागका अनुसार काठमाडौँ उपत्यकाको रुट र सवारी चापलाई ध्यानमा राखी उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विद्युतीय यात्रुवाहक सवारीलाई प्राथमिकता दिइएको हो। सरकारले विभिन्न चरणमा सार्वजनिक सवारीसाधनको दर्ता खुला गर्ने क्रममा यात्रुबाहक सार्वजनिक सवारीको दर्ता पनि खुला गरेको हो।