पोखरा , ३१ भदौ २०८३ ।
धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट अपहरणमा परेका १५ महिने बालककोप्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ भने अपहरणमा संलग्न एक महिलालाई पक्राउ गरेको छ।
भदौ १८ गते अपराह्न करिब ४:४० बजे धनुषाको विदेह–६ तीनकोरियास्थित आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा अपहरण गरी बेपत्ता बनाइएका कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतोलाई प्रहरीले कमला नगरपालिका–९ हथलेट्वास्थित सडक छेउको झाडीमा लुकाएर राखेको अवस्थामा उद्धार गरेको हो।
प्रहरीका अनुसार , बालक हराएको सूचना प्रहरी चौकी गिद्धामा प्राप्त हुनासाथ प्रहरी उपरीक्षक रुपेश खड्काको कमाण्डमा ६० जनाको प्रहरी टोली र तालिमप्राप्त कुकुरसहित व्यापक खोजतलास थालिएको थियो। अनुसन्धानका क्रममा मधेश प्रदेश प्रहरी कार्यालयको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल र प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ नेतृत्वको संयुक्त टोलीले बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राखेको पत्ता लगाएको थियो।
प्रहरीले जिल्लाका सबै नाका र सीमा क्षेत्रमा २४ सै घण्टा टोली परिचालन गरी प्राविधिक अनुसन्धानका आधारमा घेराबन्दी गरेपछि आरोपी महिलाले भदौ २९ गते दिउँसो ३:३५ बजे बालकलाई उनकै घरभन्दा करिब ३०० मिटर टाढा सडक छेउको झाडीमा छाडेर भागेकी थिइन्।
प्रहरीले बालकलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बालकलाई छाडेर भारततर्फ भाग्दै गरेकी पासवानलाई सोही दिन दिउँसो ३:४५ बजे विदेह नगरपालिका–१ महिनातपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएको हो। पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।