सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ भाद्र २०८३
  • 475
    Shares

पोखरा, ३१ भदौ २०८३ ।

सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने दुई गम्भीर घाइते भएका हुन्।

उक्त दुर्घटनामा ७८२४ नम्बरका मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक कबिलासी–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको हो।

सोही घटनामा परेर गम्भीर घाइते भएका १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ। अनुहार, टाउको र खुट्टामा चोट लागेका उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तीव्र गतिकै कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया