भैरहवामा आयल निगमको डिजेल चोरी : तीन ट्याङ्करसहित एक जना नियन्त्रणमा

भैरहवामा आयल निगमको डिजेल चोरी : तीन ट्याङ्करसहित एक जना नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ भाद्र २०८३
  • 551
    Shares

पोखरा, ३१ भदौ २०८३ ।

नेपाल आयल निगमको ट्याङ्करबाट डिजेल चोरी गरिरहेको अवस्थामा रुपन्देहीमा तीनवटा ट्याङ्करसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका–८ स्थित सर्राफ आयल सेन्टर (सर्राफ आयल पेट्रोल पम्प) मा मंगलबार निगमको ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल (ताला) तोडेर करिब ३० लिटर डिजेल निकालिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याङ्करमध्ये लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागेको थियो। भागेको ट्याङ्करलाई प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो।

अमलेखगञ्जबाट रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयका लागि ढुवानी गरी ल्याइएको डिजेल निगममा पुर्‍याउनुअघि नै उक्त पम्पमा अनधिकृत रूपमा निकालिरहेको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिने क्रममा दुवै ट्याङ्करका चालक, सहचालक र पम्प सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ। उक्त पम्पमा यसअघि पनि अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकाल्ने गरिएको प्रहरीको दाबी छ।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख शैलेन्द्र भुषालले घटनाबारे छानबिन प्रक्रिया अघि बढाइएको बताएका छन्। छानबिनमा अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालेको प्रमाणित भए ट्याङ्कर जफतसहित ट्याङ्करधनी, चालक, सहचालक र पम्प सञ्चालकलाई नियमानुसार कारबाही गरिने निगमले जनाएको छ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जना व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया