पोखरा, ३१ भदौ २०८३ ।
झापाको एक पेट्रोल पम्पमा कार्यरत मजदुरलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका–१० स्थित नन्दा पेट्रोल पम्पमा काम गर्ने मेचीनगर–९ निवासी ४३ वर्षीय धर्मप्रसाद ओलीलाई गत भदौ १७ गते कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका–७ घर भई हाल मेचीनगर–९ स्थित मुनाल सेक्युरिटीमा काम गर्ने ३१ वर्षीय आशिष लिम्बु तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई हाल मेचीनगर–९ बस्ने पासाङ तेन्जिङ तामाङ रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले सामान्य विषयमा भएको विवादपछि ओलीलाई कुटपिट गरेर भागेको प्रहरीले आरोप लगाएको छ। कुटपिटबाट घाइते भएका ओलीलाई उपचारका लागि अस्पताल पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय झापाले कुटपिट घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जनाउँदै घटनाको कारण र संलग्नताबारे अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।