पोखराका करिब सात लाख कित्ताको भू–उपयोग वर्गीकरण सकियो : पोखरामा अब जग्गाको कित्ताकाट गर्न पाइने

पोखराका करिब सात लाख कित्ताको भू–उपयोग वर्गीकरण सकियो : पोखरामा अब जग्गाको कित्ताकाट गर्न पाइने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०८३
  • 532
    Shares

पोखरा, ३० भदौ २०८३ ।

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका जग्गाको भू–उपयोग वर्गीकरण पूरा गरेसँगै लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको छ।

महानगरपालिकाका अनुसार पोखराका ३३ वटै वडामा रहेका करिब सात लाख कित्ताको भू–उपयोग वर्गीकरण गरिएपछि पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका जग्गाको कित्ताकाट खुलाएको हो।

भू–उपयोग ऐन, २०७६ तथा भू–उपयोग नियमावली, २०७९ बमोजिम भू–उपयोग वर्गीकरणको विवरण तयार पारिएको र वर्गीकरणको विवरण कार्यान्वयनका लागि भूमि प्रशासन तथा नापी कार्यालयमा पठाइसकिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन्। महानगरपालिकाको भू–उपयोग परिषद्को सिफारिस तथा नगर कार्यपालिकाको निर्णयअनुसार तयार गरिएको वर्गीकरण विवरण स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

महानगरले वर्गीकरण विवरणका आधारमा प्रचलित कानुनअनुसार जग्गा प्रशासन, कित्ताकाट, नक्शा तथा अभिलेखसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई पत्राचार गरेको जनाएको छ।

त्यसैगरी, सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी काममा आवश्यक समन्वय गरिदिन पनि महानगरले आग्रह गरेको छ।

भू–उपयोग वर्गीकरणको काम सम्पन्न भएसँगै जग्गाको कित्ताकाट, खरिद–बिक्री तथा अन्य जग्गा कारोबारमा नागरिकलाई सहजता हुने महानगरप्रमुख आचार्यले बताउनुभएको छ।

महानगरले भू–उपयोग वर्गीकरणलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्दै जग्गासम्बन्धी प्रशासनिक कामलाई थप सहज र प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया