बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ भाद्र २०८३
  • 741
    Shares

विराटनगर, २८ भदौ २०८३ ।

मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।

सोमबार साँझ कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार साँझ करिब ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका खड्कालाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो।

तर उपचारकै क्रममा साँझ ६ः५२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णपट्टी, सप्तरीमा कार्यरत सहायक हवल्दार थिए।

दुर्घटनापछि प्रहरीले बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ। बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया