लमजुङ, २८ भदौ २०८३ ।
लमजुङको राइनासमा अबैध रुपमा संचालित हतियार बनाउने र मर्मत गर्ने कारखाना भेटिएको छ।
विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रकला भट्टराई र प्रहरी चौकी तार्कुघाटको संयुक्त टोलीले राइनास नगरपालिका–९ साउनेपानीमा अवैध रूपमा संचालित हतियार बनाउने र मर्मत गर्ने कारखाना भेट्टाएको हो।
राइनास नगरपालिका–९ साउनेपानीमा अवैध रूपमा भरुवा बन्दुक उत्पादन तथा मर्मत गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राइनास नगरपालिका–९ साउनेपानीका ५७ वर्षीय प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विश्वकर्मा रहेका छन्।
विशेष गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चन्द्रकला भट्टराई र प्रहरी चौकी तार्कुघाटको संयुक्त टोलीले प्रेम विनोदको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा प्रहरीले भरुवा बन्दुक बनाउन तथा मर्मत गर्न प्रयोग हुने विभिन्न हतियार र पार्टपुर्जा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार घरबाट बन्दुकको बट बनाउन तयार पारिएका २ फिट ८ इन्च लम्बाइका काठका पाँच थान टुक्रा, ब्यारेल नभएका पुराना भरुवा बन्दुक तथा बट आठ थान र फलामका ब्यारेल १० थान बरामद गरिएको छ।
त्यसैगरी, बन्दुक मर्मतमा प्रयोग हुने चापघोडा, फलामको चिम्टी, चामपाटा लगायतका विभिन्न साना फलामका टुक्राहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए।
उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमार्फत लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएका दुवै जनालाई अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ।
प्रहरीले बरामद भएका हतियार तथा पार्टपुर्जाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।