पोखरा, २८ भदौ २०८३ ।
अविरल वर्षापछि आएको बाढीपहिरोले नलगाडमा ठूलो क्षति, दर्जनौं घर-टहरा र पशुचौपाया पुरिए
जाजरकोट । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले नलगाड नगरपालिका–१ र २ मा ठूलो जनधनको क्षति पुर्याएको छ।
बाढीपहिरोले बजार क्षेत्रका पसलहरू, ट्याक्टर, अटो, घट्ट, घर तथा टहराहरू पुरेर नष्ट गरेको छ। ठूलो संख्यामा पशुचौपाया समेत पुरिएको स्थानीयले बताएका छन्। निरन्तरको पहिरोका कारण तिम्लेचौर लगायतका विभिन्न बस्तीमा बसोबास गर्नै नसकिने अवस्था सिर्जना भएको छ।
विपद्का कारण नलगाड क्षेत्रको विद्युत् र सडक सञ्जाल समेत पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उद्धार र राहतमा कठिनाइ भएको छ।
यस कठिन परिस्थितिमा अवरुद्ध विद्युत् र सडक तत्काल सञ्चालनमा ल्याउन, जोखिममा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उचित बसोबासको व्यवस्था मिलाउन सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूसँग अपिल गरिएको छ।
विपद्को यस घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्न समेत आह्वान गरिएको छ।