तनहुँ, २८ भदौ २०८३ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार बिहान करिब ८ः३० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय चालक अजय थिङ गम्भीर घाइते भएका थिए। दुर्घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घाइते चालकको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याएको थियो। तर उपचारका क्रममा चिकित्सकले बिहान ९ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ट्रकमा सवार सह-चालकको घुँडामा सामान्य चोट लागेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।