काठमाडौँ, २८ भदौ २०८३।
त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड आगामी असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सडक विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो।
गत भदौ १० र १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटान भई पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक अवरुद्ध भएलगत्तै सडक विभागले स्रोत, साधन, जनशक्ति तथा उपकरणहरूको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम निरन्तर गरिरहेको छ।
निर्माण कार्यकै क्रममा आज भदौ २८ गते नयाँ निर्मित ट्र्याकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएको छ। परीक्षणका क्रममा:काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा सवारी साधन र चितवनबाट काठमाडौँतर्फ: एउटा भारी सवारी (हेभी भेहिकल) र केही हलुका सवारी साधनहरू सफलतापूर्वक सञ्चालन गरी परीक्षण सम्पन्न गरिएको सडक विभागले जनाएको छ।
परीक्षण सफल भए तापनि बाँकी रहेका सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी कामहरू अझै जारी रहेकाले हालका लागि यो सडक खण्ड सर्वसाधारणका लागि खुला गरिएको छैन। असोज १ गतेदेखि मात्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेकाले त्यतिन्जेलसम्मका लागि कृष्णभीर खण्डबाट हुने सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ।
सडक विभागका प्रवक्ता एवं उप-महानिर्देशक शुभराज न्यौपानेद्वारा हस्तान्तरित विज्ञप्तिमा निर्माण अवधिभर सम्बन्धित निकायबाट जारी गरिएका सूचना र वैकल्पिक मार्गसम्बन्धी निर्देशनको पालना गरी सहयोग गरिदिन सम्पूर्ण यात्रु तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिएको छ।