इटहरीमा मोटरसाइकल दुर्घटना : सुनसरी प्रशासनका कर्मचारीसहित दुई जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना : सुनसरी प्रशासनका कर्मचारीसहित दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ भाद्र २०८३
  • 589
    Shares

काठमाडौँ, २९ भदौ २०८३ ।

सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारीसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का ३४ वर्षीय सागर रेग्मी र सोही ठाउँका २९ वर्षीय पारस थापा रहेका छन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत थिए । उनी प्रमुख जिल्ला अधिकारीका स्वकीय सचिवका रूपमा समेत कार्यरत रहेको प्रहरीले जनाएको छ । थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमै करार सेवामा कार्यरत रहेको र केही समयअघि मात्रै राजीनामा दिएको विवरण सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब २ः५० बजे इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकल सडकको डिभाइडर/कल्भर्टमा ठोक्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक विवरण छ ।

दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए । घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी उनीहरूलाई बिहान करिब ३ः२३ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । उपचारका क्रममा रेग्मीको बिहान ४ः५२ बजे र थापाको ५ः११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकारीहरू अस्पताल पुगेका थिए । दुर्घटनापछि दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाउने तयारी गरिएको जनाइएको छ ।

दुर्घटना इटहरी–७ र १७ को सीमाक्षेत्रमा पर्ने सडकखण्डमा भएको भन्ने विवरण पनि सार्वजनिक भएका छन् । दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रहरीले दुर्घटनाको वास्तविक कारण, मोटरसाइकलको गति तथा सडकको अवस्थालगायतका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया