काठमाडौँ, २९ भदौ २०८३ ।
नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। ठगीको आरोपमा पक्राउ परी आठ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै मुक्त भएका गुरुङले आलोचनाबीच अनुशासन समिति संयोजकको जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले गुरुङले पदबाट राजीनामा दिएको जानकारी गराएका थिए। पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पनि गुरुङको राजीनामाबारे सभापति थापाले बैठकलाई जानकारी गराएको उल्लेख छ।
पैसा ठगी गरेको उजुरी परेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो। उनी आठ दिन प्रहरी हिरासतमा बसेपछि ठगीसम्बन्धी रकम बुझाएर शुक्रबार हिरासतबाट मुक्त भएका थिए। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले गुरुङ रकम बुझाएपछि हिरासत मुक्त भएको जानकारी दिएका थिए।
अनुशासन समितिको संयोजकजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्ति स्वयं ठगीको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा पुगेपछि कांग्रेसभित्र र बाहिर उनको भूमिकामाथि प्रश्न उठेको थियो। यही विषयलाई लिएर गुरुङमाथि आलोचना बढ्दै गएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
गुरुङ पूर्वमन्त्रीसमेत हुन्। पार्टीको अनुशासन हेर्ने जिम्मेवारीमा रहेका उनलाई नै ठगीको आरोपमा प्रहरीले पक्राउ गरेपछि कांग्रेसको राजनीतिक तथा नैतिक भूमिकामाथि समेत प्रश्न उठेको थियो।
गुरुङको राजीनामासँगै नेपाली कांग्रेसको अनुशासन समितिको संयोजक पद रिक्त भएको छ। अब पार्टीले उक्त जिम्मेवारीमा नयाँ व्यक्ति चयन गर्ने तयारी गर्नुपर्नेछ।