नयाँ दिल्ली, २८ भदौ २०८३ ।
भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार नयाँ दिल्ली घोषणापत्र जारी गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि सदस्य राष्ट्रले घोषणापत्रप्रति आपत्ति नजनाएको बताउँदै सर्वसम्मत रूपमा पारित भएको जानकारी दिएका छन्।
घोषणापत्रमा आतंकवाद, विश्व व्यापार, आणविक जोखिम तथा ब्रिक्सका आधारभूत सिद्धान्तलगायतका विषयमा सदस्य राष्ट्रहरूले साझा धारणा प्रस्तुत गरेका छन्।
घोषणापत्रका प्रमुख १० बुँदा यस्ता छन् :
१. पहलगाम आतंकवादी आक्रमणको निन्दा
घोषणापत्रमा अप्रिल २२, २०२५ मा भएको पहलगाम आतंकवादी आक्रमणको कडा निन्दा गरिएको छ। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
२. आतंकवादविरुद्ध कडा अडान
आतंकवादका सबै स्वरूप र त्यसका कारणको निन्दा गर्दै विश्व समुदायलाई आतंकवादविरुद्ध एकजुट हुन आह्वान गरिएको छ।
३. आतंकवादलाई धर्मसँग नजोड्न आग्रह
कुनै पनि धर्म, राष्ट्रियता वा समुदायलाई आतंकवादसँग जोड्ने प्रयासको विरोध गरिएको छ। आतंकवादलाई कुनै धर्म वा समुदायको प्रतिनिधिका रूपमा प्रस्तुत गर्न नहुनेमा जोड दिइएको छ।
४. सीमापार आतंकवादविरुद्ध संयुक्त कारबाही
आतंकवाद, त्यसको वित्तीय स्रोत तथा आतंकवादीलाई आश्रय दिने व्यक्ति वा समूहविरुद्ध प्रभावकारी र समन्वयात्मक कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
५. आतंकवादीलाई जवाफदेही बनाउनुपर्ने
आतंकवादी तथा आतंकवादी संगठनलाई कानुनी र सामूहिक रूपमा जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।
६. अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी सन्धि छिटो पारित गर्न माग
संयुक्त राष्ट्रसंघअन्तर्गत प्रस्तावित अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी व्यापक सन्धिलाई यथाशीघ्र अन्तिम रूप दिई पारित गर्नुपर्नेमा सदस्य राष्ट्रहरूले जोड दिएका छन्।
७. ब्रिक्सका आधारभूत सिद्धान्तमा प्रतिबद्धता
पारस्परिक सम्मान, सार्वभौम समानता, एकता तथा सहमतिमा आधारित निर्णय प्रक्रियालाई ब्रिक्सको मुख्य आधारका रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
८. एकपक्षीय भन्सार तथा व्यापार प्रतिबन्धप्रति चिन्ता
एकपक्षीय रूपमा लगाइने भन्सार शुल्क तथा व्यापार प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै यस्ता कदम विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का नियम तथा बहुपक्षीय व्यापार प्रणालीअनुकूल हुनुपर्नेमा जोड दिइएको छ।
९. आणविक जोखिमप्रति चिन्ता
विश्वमा बढ्दो तनाव र आणविक हतियार प्रयोगको सम्भावित जोखिमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आणविक युद्धको जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ।
१०. भारतको अध्यक्षताको प्रशंसा
ब्रिक्स सदस्य राष्ट्रहरूले भारतको अध्यक्षतामा आयोजित ब्रिक्स प्लस तथा आउटरीच संवादको प्रशंसा गरेका छन्। यस्ता संवादले विकासशील तथा उदीयमान अर्थतन्त्रबीच सहकार्य विस्तार गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
१८औँ ब्रिक्स शिखर सम्मेलनका अन्य कार्यक्रम तथा छलफलहरू आइतबार पनि जारी रहनेछन्। सम्मेलनमा सदस्य राष्ट्रका शीर्ष नेतृत्वबीच विश्व राजनीति, अर्थतन्त्र, व्यापार, सुरक्षा तथा बहुपक्षीय सहकार्यका विषयमा थप छलफल हुने बताइएको छ।