काठमाडौं, २८ भदौ २०८३।
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ परेका छन्। शनिबार अनामनगरस्थित संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा आयोजित कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।
कार्यक्रम सकिएपछि साँझ करिब ५ः४५ बजे संवाद डबलीको प्राङ्गणबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलीले परियारलाई नियन्त्रणमा लिएको जनाइएको छ।
परियारले आयोजना गरेको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायतको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले सरकारले बाढीपीडितलाई राहत दिनुको सट्टा थप आहत बनाएको टिप्पणी गरेका थिए।
यसअघि पनि विवादास्पद अभिव्यक्ति दिएको आरोपमा जेठ १५ गते प्रहरी परिसर भद्रकालीले परियारलाई पक्राउ गरेको थियो। त्यसको करिब एक सातापछि सर्वोच्च अदालतले तारेखमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका थिए।
परिवारका एक सदस्यका अनुसार परियार हालै मात्र अदालतमा तारेख थामेर आएका थिए। उनका लागि आगामी मंसिर २२ गते अदालतमा उपस्थित हुने तारेख तोकिएको थियो।