टुक्रा–टुक्रा अवस्थामा सेफ्टी ट्याङ्कीभित्र भेटियो, युवकको शव : चार जना पक्राउ

टुक्रा–टुक्रा अवस्थामा सेफ्टी ट्याङ्कीभित्र भेटियो, युवकको शव : चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ भाद्र २०८३
  • 475
    Shares

पोखरा, २७ भदौ २०८३।

महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ। मृतक भंगाहा नगरपालिका–६ का अशोककुमार वातरका छोरा अन्दाजी २२ वर्षीय विवेककुमार सरदार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा घरतर्फ हिँडेका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनको खोजीका लागि बुबाले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित निवेदन दिएका थिए।

निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा बलवा–७ बनौटास्थित अशोककुमार ठाकुरको घर पछाडिको सेफ्टी ट्याङ्कीमा विवेकको शव फेला पारेको हो।

घटनामा संलग्नताको आशंकामा प्रहरीले बलवा–७ का अन्दाजी ५८ वर्षीय अशोककुमार ठाकुर, उनकी ५५ वर्षीया श्रीमती रामकली देवी, २२ वर्षीया बुहारी सोनु कुमारी ठाकुर र महोत्तरी गाउँपालिका–५ का ३७ वर्षीय सियाराम शर्मालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले शव परीक्षण तथा घटनाको प्रकृति र संलग्न व्यक्तिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। विवेकको मृत्युको कारण, हत्या भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो तथा शव सेफ्टी ट्याङ्कीमा कसरी पुर्‍याइयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप तथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया