म्याग्दीको लेकाली क्षेत्रका बासिन्दाका लागि आम्दानीको स्रोत बन्यो, रातो च्याउ

म्याग्दीको लेकाली क्षेत्रका बासिन्दाका लागि आम्दानीको स्रोत बन्यो, रातो च्याउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ भाद्र २०८३
  • 494
    Shares

rato chyau, रातो च्याउ खेति

म्याग्दी, २७ भदौ २०८३ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका लेकाली क्षेत्रका बासिन्दाका लागि जङ्गलमा पाइने रातो च्याउ आम्दानीको राम्रो स्रोत बनेको छ। च्याउ पलाउने याम सुरु भएसँगै स्थानीय बासिन्दा जङ्गलमा पुगेर च्याउ सङ्कलन तथा बिक्री गर्न थालेका छन्।

मुना निवासी नगेन मगरसहित चार युवाको समूह च्याउ सङ्कलनका लागि करिब १० दिनदेखि जङ्गलमै बसेको छ। उनीहरूले दैनिक करिब ५० किलो च्याउ सङ्कलन गरी बिक्री गर्दै आएका छन्। नगेनका अनुसार शुक्रबार मात्रै करिब रु ४० हजारको च्याउ बिक्री भएको छ।

समुद्री सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट र दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा रातो च्याउ उम्रने गर्छ। मध्यजेठदेखि मध्यअसार तथा मध्यभदौदेखि असोजसम्म यसको सङ्कलन गर्ने उपयुक्त समय मानिन्छ।

पोषिलो, स्वादिलो र औषधीय गुणसमेत रहेको मानिने रातो च्याउको माग बढ्दो छ। ताजा च्याउ प्रतिकिलो करिब रु एक हजार तथा सुकाएर बनाइएको च्याउ प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने गरेको स्थानीय व्यवसायी बताउँछन्।

सडक यातायातको पहुँच बढेसँगै स्थानीयले जङ्गलबाट सङ्कलन गरेको च्याउ बेनी र पोखराका बजारमा समेत पु¥याउन थालेका छन्। विगतमा यातायातको सुविधा नहुँदा च्याउ सुकाएर बिक्री गर्ने गरिन्थ्यो।

यद्यपि, च्याउ सङ्कलन जोखिमपूर्णसमेत छ। बस्तीबाट टाढाको जङ्गलमा वन्यजन्तुको जोखिम हुने तथा अग्ला सुकेका रूखमा उम्रेको च्याउ टिप्दा दुर्घटनाको सम्भावना रहने स्थानीय बताउँछन्। नेपाल कृषि अनुसन्धान परिषद्को पुस्तिकामा रातो च्याउमा प्रोटिन तथा विभिन्न खनिज तत्व पाइने उल्लेख छ।

प्रतिक्रिया