पाँचथर, २६ भदौ २०८३।
आफ्नै छिमेकीको हत्या गरेर आत्महत्याको रूप दिन खोज्ने दुई जना किशोर पक्राउ परेका छन्।
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै छिमेकी पाँचथरको मिक्लाजुङ गाउँपालिका –३ आहाले सिरानका ४८ वर्षीय इन्द्रकुमार दमाईको हत्या गरेर आत्महत्याको रूप दिन खोजेको आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दुवै जना काऊनुद्वारा संरक्षित १८ वर्ष मुनिका बालकहरु रहेका छन्। प्रहरीले उनीहरु मध्ये एकको परिवर्तित नाम ०२-०८३/०८४-०४ र अर्काको परिवर्तित नाम ०२-०८३/०८४-४(अ) राखेको छ।
प्रहरीका अनुसार , उनीहरुले गएको भदौ २० गते दमाईलाई उनकै घरमा बञ्चरो प्रहार गरी हत्या गरेर आत्महत्या गरेको देखाउन शवलाई घरनजिकै रहेको आल्चाको रूखमा झुण्ड्याउने प्रयास गरेका थिए। तर शव झुण्ड्याएको अवस्थामा घटना लुकाउन नसकिने देखिएपछि त्यसलाई त्यहाँबाट करिब ५०० मिटर तल भिरपाखामा फ्याँकिएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको प्रहरीले घाँटीमा सलको पासो लगाइएको देखे पनि शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखे पछि उनको हत्या भएको निष्कर्ष निकालेको थियो। घटनाको प्रकृति शङ्कास्पद देखिएपछि हत्या हुनसक्ने कोणबाट अनुसन्धान शुरु गरेको प्रहरीले घटनामा संलग्न दुवै जना किशोर रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको छ। घटनामा प्रयोग भएको बञ्चरो र दाउसमेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत फिदिमबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिसकुमार कर्णले जानकारी दिएका छन्।