पोखरा, २५ भदौ २०८३।
पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले बिहीबार पदभार ग्रहण गरेकी छन्।
संघको भदौ २० र २१ गते सम्पन्न ३६औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमलाई निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरेका हुन्।
अध्यक्ष गौतमसँगै संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पनि पदभार ग्रहण गरेका छन्। उनीहरूले बिहीबारदेखि नै आफ्नो कार्यकाल सुरु गरेको संघका महासचिव सुदीप प्रधानाङ्गले जानकारी दिए।
महासचिव प्रधानाङ्गका अनुसार पदभार ग्रहणपछि बिहीबार बसेको कार्यसमितिको पहिलो बैठकले ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।