काठमान्डौ , २४ भदौ २०८३।
भारतको राजधानी नयाँ दिल्लीमा मणिपुरका चर्चित गिटारवादक ५४ वर्षीय छोङ्थाम विक्रम सिंहको हत्या भएको छ। आइतबार राति अपार्टमेन्ट बाहिरको होहल्ला हेर्न निस्किएका सिंहलाई विवादपछि करिब एक दर्जन मानिसको समूहले लखेट्दै अपार्टमेन्टको भर्याङमा कुटपिट गरेको थियो।
गम्भीर घाइते सिंहको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा एक नाबालिगसहित ८ जनालाई पक्राउ गरिएको छ भने हत्याको कारणबारे अनुसन्धान भइरहेको छ।
सन् १९८० को दशकमा स्थापित चर्चित रक ब्यान्ड **‘इस्टर्न डार्क’**का मुख्य गिटारवादक सिंह मणिपुर तथा उत्तरपूर्वी भारतमा रक संगीतको विकासमा अग्रणी मानिन्थे। पछिल्ला दुई दशकदेखि दिल्लीमा बस्दै आएका उनले युवालाई संगीत प्रशिक्षणसमेत दिँदै आएका थिए।
सिंहको हत्याले दिल्लीमा उत्तरपूर्वी समुदायले भोग्दै आएको जातीय विभेद र असुरक्षाको मुद्दा पुनः सतहमा ल्याएको छ। घटनाप्रति विपक्षी नेता राहुल गान्धीले समेत दुःख व्यक्त गर्दै उत्तरपूर्वी नागरिकको सुरक्षामाथि प्रश्न उठाएका छन्।