मुस्ताङ, ६ भदौ २०८३।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी तथा पारिवारिक भ्रमणका क्रममा मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्। शनिबार दिउँसो उनी आफ्नो टोलीसहित जोमसोमस्थित होटल ओम्स होममा पुगेका हुन्। उनको आगमनका क्रममा होटल परिसरमा स्थानीय तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी तथा पारिवारिक भ्रमणका रूपमा रहेको बताइएको छ। भ्रमणका क्रममा उनले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने तयारी रहेको प्राप्त समाचारमा उल्लेख छ।
प्रधानमन्त्रीको मुस्ताङ आगमनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। भ्रमण निजी भएकाले औपचारिक राजनीतिक वा सरकारी कार्यक्रम सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्री शाह शुक्रबार बिहान काठमाडौंँबाट सरकारी गाडीमार्फत मुस्ताङ यात्रामा निस्किएका थिए। पहिलो दिन उनी पोखरा पुगेका थिए। पोखराबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा परिवारसहित बसेका शाह शनिबार बिहान सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका हुन्।
मुस्ताङ जाने क्रममा बेनी–जोमसोम सडकखण्डमा पहिरोका कारण उनको यात्रा केही समय प्रभावित भएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र रघुगंगा गाउँपालिका–२ बैसरीमा लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको थियो। दुवै स्थानमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएपछि प्रधानमन्त्रीको टोली मुस्ताङतर्फ अघि बढेको हो।
शाहको टोलीले म्याग्दीको तातोपानीस्थित होटल नेचुरल स्प्रिङमा करिब एक घण्टा विश्रामसमेत गरेको थियो। त्यसपछि उनी सडकमार्ग हुँदै जोमसोम पुगेका हुन्। नेपाल न्युजका अनुसार प्रधानमन्त्रीको टोलीले रघुगंगा गाउँपालिका–२ सिरुवारी क्षेत्रको पहिरो पार गर्दै जोमसोमतर्फ यात्रा गरेको थियो।