लमजुङका तत्कालीन निमित्त शिक्षा अधिकारी र शिक्षकविरुद्ध भ्रस्टाचार मुद्दा दायर

लमजुङका तत्कालीन निमित्त शिक्षा अधिकारी र शिक्षकविरुद्ध भ्रस्टाचार मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ भाद्र २०८३
  • 931
    Shares

शिक्षा विकास तथा समन्वय इकाइ, लमजुङ

पोखरा,  ३ भदौ २०८३ ।

शिक्षा विकास तथा समन्वय इकाइ, लमजुङका तात्कालिन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेसहित दुई जनाविरुद्ध भ्रस्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङका तात्कालिन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपाने र शिक्षक नवराज केसीबिरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले झुटो विवरण पेश गरी शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामा सहभागी भई माध्यमिक तहको स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको प्राप्त जानकारीमा उल्लेख छ ।

अख्तियारका अनुसार, लमजुङस्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत केसीले आफू विस्थापित शिक्षक भएको झुटो विवरण पेस गरी आन्तरिक प्रतिस्पर्धात्मक परीक्षामा सहभागी भएका थिए। अनुसन्धानका क्रममा उनले त्यसअघि नै स्थायी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिइसकेको खुलेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार केसीले पेश गरेको झुटो विवरणसहितको दरखास्त फाराम तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले प्रमाणित गरेका थिए।

झुटो विवरण पेश गरी परीक्षा तथा नियुक्ति प्रक्रियामा सहभागी भएको आरोपमा केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कारबाहीको मागदाबी गरिएको छ। यस्तै, न्यौपानेविरुद्ध सोही दफा १६(१) तथा दफा २२ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गर्दै आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया