हर्मुज जलमार्ग खोल्न इरानले राख्यो अमेरिकासमक्ष पांच शर्त

हर्मुज जलमार्ग खोल्न इरानले राख्यो अमेरिकासमक्ष पांच शर्त


  • एजेन्सीहरु
  • आइतबार, २४ साउन २०८३
  • 817
    Shares

काठमाडौँ, २४ साउन २०८३

इरानले हर्मुज जलमार्ग पुनः सञ्चालन गर्न अमेरिकासमक्ष पाँचवटा सर्त अघि सारेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले अमेरिकाले इरानका पाँचवटा माग पूरा नगरेसम्म हर्मुज स्ट्रेट नखोलिने बताएका हुन्।

बीबीसी फारसीका अनुसार इरानले अमेरिकासमक्ष राखेका मागमा इरानमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्नुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नाकाबन्दी तत्काल हटाउनुपर्ने रहेका छन्।

त्यस्तै, इरानविरुद्ध धम्की दिन बन्द गर्नुपर्ने र अमेरिकाले कब्जा गरेको इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने माग पनि इरानले अघि सारेको छ।

विश्लेषकहरूले जोल्घादरले यसअघि इरानले राख्दै आएका मागलाई नै अधिकांश रूपमा दोहोर्‍याएको बताएका छन्। उनीहरूका अनुसार पछिल्लो अभिव्यक्तिले हर्मुज जलमार्ग खोल्ने विषयमा इरान अझै कडा अडानमा रहेको संकेत गर्छ।

इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालनका विषयमा नयाँ व्यवस्थाबारे सहमति नजिक पुगेको भनिएका बेला जोल्घादरको यस्तो भनाइ आएको हो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तर, सम्झौता हुँदैमा हर्मुज जलमार्ग तत्काल खुल्ने अवस्था नरहेको उनले स्पष्ट पारेका छन्।

उनका अनुसार जलमार्ग पुनः सञ्चालन गर्ने विषय अन्य सर्त पूरा हुने कुरामा निर्भर रहनेछ।

यसअघि समाचार एजेन्सी रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीच हर्मुज जलमार्गका विषयमा भइरहेको वार्तामा प्रगति भएको जनाएको थियो।

अमेरिकाले हर्मुजबाट व्यावसायिक जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्ने सम्झौता घोषणा भएपछि मात्रै इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाउने तयारी गरेको ती अमेरिकी अधिकारीले बताएका छन्।

प्रतिक्रिया