देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, २३ साउन २०८३
  • 893
    Shares

वर्षात, rain

काठमाडौँ, २३ साउन २०८३।

देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ।

बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यस्तै, कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया