हेटौँडाको सामुदायिक वनमा भेटियो बोराभित्र महिलाको शव : हत्याको आशंका

हेटौँडाको सामुदायिक वनमा भेटियो बोराभित्र महिलाको शव : हत्याको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ साउन २०८३
  • 1.3K
    Shares

मकवानपुर, २२ साउन २०८३,

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।

उक्त वनमा च्याउ खोज्न गएका स्थानीय बासिन्दाले सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शब भेट्टाएका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार शुक्रबार दिउँसो स्थानीय बासिन्दा च्याउ टिप्न जंगल गएको क्रममा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बोरा खोलेर हेर्दा करिब ३० देखि ३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले हत्या गरी शव लुकाउने उद्देश्यले जंगलमा फालिएको हुन सक्ने आशंकामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया