पोखरा, २२ साउन २०८३।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको आईसीपी नाकाबाट जाँचपास भई नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट सौदागर आयल सेन्टरमा सिल फलामको पाइपको हुक प्रयोग गरी अनाधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा हेर्ने २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, साथै ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करहरू समेत नियन्त्रणमा लिएको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।