पोखरा , २१ साउन २०८३ ।
साउदी अरबबाट जहाज चढेर काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ओर्लिएका तनहुँका एक युवा काठमाण्डौ ओर्लनासाथ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँको साविक भिरकोट–६ घर भई हाल ऋषिङ गाउँपालिका–४ बस्ने अम्मरसिंह नेपाली रहेका छन्। उनलाई बुधबार राति करिब १०:५० बजे साउदी अरबबाट एयर अरेबियाको फ्लाइट नम्बर G9 530 मार्फत काठमाडौं आइपुग्नेबित्तिकै विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका नेपालीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा सन् २०२४ जुन ६ मा इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।
रेड नोटिस जारी भएपछि उनी विदेशमा रहेको सूचना प्राप्त भएको थियो। साउदी अरबबाट नेपाल फर्किएलगत्तै उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।
नेपाल प्रहरीले पक्राउ परेका नेपालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेको छ।