पोखरा , २१ साउन २०८३ ।
धनगढी । कैलालीमा नेपाली सेनाको सैन्य तालिम अभ्यासका क्रममा ग्रिनेट बम पड्किँदा दुई जना सैनिक घाइते भएका छन्। घाइते दुवै सैनिकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
गोदावरी नगरपालिका–४ स्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण, तेघरी ब्यारेकमा सञ्चालन भइरहेको सैन्य तालिमका क्रममा ग्रिनेट पड्किएको हो। घटनामा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र सैन्य २० वर्षीय रञ्जित थारु घाइते भएका छन्।
ग्रिनेट पड्किएपछि घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनीहरूलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटना सैन्य तालिम तथा अभ्यासका क्रममा भएको हो। ग्रिनेट पड्किनुको कारण तथा घटनाको विस्तृत अवस्थाबारे सम्बन्धित निकायबाट आवश्यक अनुसन्धान भइरहेको छ।
घाइते दुवै सैनिकको स्वास्थ्य अवस्था हाल मध्यम रहेको बताइएको छ। घटनापछि तालिमस्थलको सुरक्षा अवस्था तथा अभ्यासका क्रममा अपनाइएका सावधानीका विषयमा समेत आवश्यक विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।