पोखरा , २१ साउन २०८३ ।
पत्रकारको परिचयपत्र देखाएर सुरक्षा जाँचबाट उम्किँदै लागुऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई कारसहित पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो, बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कारसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सिरहाको मिर्चैयाबाट कारमा खैरो हेरोइन बोकेर काठमाडौं आउँदै थिए। सुरक्षा जाँचबाट बच्नका लागि उनीहरूले पत्रकारको परिचयपत्र प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कार चालक उमेश यादवको साथबाट लहान–२२, सिरहा ठेगाना उल्लेख भएको ‘जनजागरण खबर’को पत्रकार परिचयपत्र समेत बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।
प्रहरीले कारको गियरबक्सभित्र लुकाएर राखिएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा उक्त कार हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको समेत खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ। प्रहरीले परिचयपत्रको वास्तविकता र यसको प्रयोग कसरी भयो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।