बसको ठक्करपछि सुनकोशीमा खसेको कारमा सवार तीन जना बेपत्ता : खुल्यो पहिचान, खोजी जारी

बसको ठक्करपछि सुनकोशीमा खसेको कारमा सवार तीन जना बेपत्ता : खुल्यो पहिचान, खोजी जारी


  • जनसञ्चार डटकम समाचारदाता
  • सोमबार, १८ साउन २०८३
  • 1.1K
    Shares

काठमाडौं, १८ साउन २०८३ ।

बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्दा कारमा सवार तीन जना बेपत्ता भएका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट कार करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको हो।

नदीमा खसेको कार तीव्र बहावका कारण भेलमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनामा बेपत्ता हुनेमा सडक आयोजनाका ठेकेदार तथा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का पूर्ववडाध्यक्ष दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र एक जना स्काभेटर सहचालक रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परेको कार ठेकेदार लामाकै हो र दुर्घटनाका बेला उनी आफैंले कार चलाइरहेका थिए। बेपत्ता गणेश स्काभेटर चालक तथा अर्का व्यक्ति हेल्पर रहेको प्रारम्भिक विवरण छ।

बसको ठक्करपछि नदीमा खस्यो कार

खोटाङबाट काठमाडौं आउँदै गरेको कारलाई काठमाडौंको दिशाबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करपछि अनियन्त्रित बनेको कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि कार नदीको तीव्र बहावमा डुबेकाले घटनास्थलमा उद्धार टोलीलाई समेत काम गर्न कठिनाइ भएको छ।

गोताखोरसहित सुरक्षाकर्मी परिचालन

बेपत्ताको खोजी तथा उद्धारका लागि विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ। नेपाल प्रहरीको टोलीसमेत घटनास्थलमा खटिएको छ।

तर, सुनकोशी नदीमा पानीको बहाव तीव्र रहेकाले कार तथा बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ। सुरक्षाकर्मीले नदी आसपासका सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएका छन्।

बस र चालक प्रहरी नियन्त्रणमा

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ। दुर्घटनामा बेपत्ता तीनै जनाको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

सडक आयोजनाका ठेकेदार तथा सिन्धुपाल्चोकको जुगल –७ का पूर्ववडाध्यक्ष दिलकुमार लामा,

सिन्धुलीको गोलन्जोर –१ का २८ वर्षीय गणेश थापा र एक जना स्काभेटर सहचालक 

प्रतिक्रिया