काठमाडौं १७ साउन २०८३ ।
काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति आगलागी हुँदा फर्निचर पसलसहित आसपासका व्यापारिक टहरामा क्षति पुगेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार राति करिब ९ः१५ बजे ट्रान्सफर्मरबाट आगलागी सुरु भएको हो। विद्युत् ट्रान्सफर्मरबाट सुरु भएको आगो फैलिँदै गएपछि आसपासका व्यापारिक संरचनासमेत प्रभावित भएका थिए।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल तथा स्थानीयवासी परिचालन गरिएको प्रहरीले जनाएको छ। दमकल राति करिब ९ः३५ बजे घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास थालेको थियो।
आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे समेत थप अनुसन्धान भइरहेको छ।