इनरुवा, १७ असार २०८३।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। प्रशासनले २०८३ साल साउन १६ गते साँझ ५ बजेदेखि साउन १७ गते बिहान ९ बजेसम्म ५ जनाभन्दा बढी मानिस जम्मा हुन तथा धर्ना, जुलुस, प्रदर्शन र सभा लगायतका गतिविधि गर्न रोक लगाएको हो।
प्रशासनका अनुसार इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र निषेध आदेशको दायरामा परेको छ।
त्यस्तै, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाका सम्पूर्ण क्षेत्रमा समेत निषेध आदेश लागू हुनेछ।
यसैगरी भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा पनि उक्त अवधिभर ५ जनाभन्दा बढी भेला हुने, धर्ना, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले तोकिएको अवधिमा निषेध आदेशको पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।