साढे २० वर्ष कैद सुनाइएका हत्यारा १७ वर्षपछि भारतबाट नेपाल फर्कदै गर्दा गड्डाचौकीबाट पक्राउ

साढे २० वर्ष कैद सुनाइएका हत्यारा १७ वर्षपछि भारतबाट नेपाल फर्कदै गर्दा गड्डाचौकीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ साउन २०८३
  • 1.6K
    Shares

कञ्चनपुर, १६ साउन २०८३।।

साढे २० वर्ष कैद सुनाइएका हत्यारा भारतमा लुकेर बसेको अवस्थामा १७ वर्षपछि पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिना कैद सजाय सुनाइएका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ निवासी ३५ वर्षीय टुकु भनिने राजेश राना १७ वर्षपछि पक्राउ परेका हुन्। रानालाई भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।

प्रहरीका अनुसार , २०६६ सालमा लालझाडी गाउँपालिका–४ कै ३० वर्षीय रामस्वरुप रानाको हत्या गरेर भारत भागेका राजेश राना त्यतै बस्दै आएका थिए। १७ वर्ष पछि नेपाल फर्कदै गर्दा उनलाई नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। रामस्वरुप २०६६ साल मंसिर १७ गते घरबाट बेपत्ता भएका थिए। त्यसको १२ दिनपछि उनको शव दोदा नदीमा फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा रामस्वरुपको हत्या गरी शव नदीमा फालिएको खुलेपछि प्रहरीले राजेश रानाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो। तर, घटनापछि नै राना फरार भएका थिए। अदालतले उक्त मुद्दामा रानालाई २० वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। सजाय फैसला भए पनि लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले निरन्तर खोजी गर्दै आएको थियो।

प्रहरीका अनुसार भारतमा लुकेर बसेका राना नेपाल प्रवेश गरेको सूचनाका आधारमा खोजी तीव्र पारिएको थियो। सोही क्रममा उनलाई गड्डाचौकीबाट नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।

१७ वर्षपछि पक्राउ परेका रानालाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया