कावासोती १५ साउन २०८३।।
नवलपुरको कावासोती नगरपालिका–८, हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको मृत्यु भएको छ।
कावासोतीबाट डण्डातर्फ जाँदै गरेको बा ३ क १९०३ नम्बरको ट्रकले हलचोकमा शनिबार बिहान पैदलयात्री कावासोती–८ निवासी तुलसी प्रसाद च्वाईलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भए पनि अहिले यातायात सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक चालक प्रकाश गिरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।