पोखरा, ११ साउन २०८३ ।
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा सोमबार बिहानदेखि निषेधाज्ञा लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार बसेको जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम मिति २०८३ साउन ११ गते बिहान ७:०० बजेदेखि साँझ ७:०० बजेसम्म लागू हुने गरी निषेध आदेश जारी गरेको हो।
जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जमघट गर्न वा समूहमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ।
प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐनअनुसार पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद, अथवा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासनले स्थानीयवासीलाई अफवाहमा नलाग्न तथा सुरक्षा निकायलाई सहयोग गर्नसमेत आग्रह गरेको छ।