बागलुङ, ११ साउन २०८३।
बागलुङमा आयोजित एक जन्मदिनको भब्य पार्टीमा आइफोनको विवाद हुँदा जन्मदिन मनाउन आएका साथीहरुले नै एक किशोरलाई कुटेर हत्या गरेका छन्।
बागलुङको बडिगाड गाउँपालिका–१ का असिम वनको जन्मदिन मनाउन पुगेका उनका साथीहरुले कुटेर उनको १७ वर्षीय लजिन थापाको हत्या गरेका हुन्।
प्रहरीका अनुसार साउन १ गते राति लजिन आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०ः३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए। उक्त पार्टी लगत्तै बेपत्ता भएका लजिन बेपत्ता भएका थिए। साउन २ गतेदेखि लजिन सम्पर्कविहीन भएको भन्दै उनका परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए।
लाज़िनको खोजतलाश गर्ने क्रममा साउन ९ गते बिहान करिब ९ः१५ बजे बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव भेटिएको थियो । लजिनको शव मनखोलाको खोल्सामा भेटिएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा व्यापक खोजी तथा अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा आइफोनको विषयमा भएको विवादपछि भएको कुटपिटका क्रममा लजिनको मृत्यु भएको खुले पछि प्रहरीले चार जना साथीहरुलाई पक्राउ गरेइको जानकारी दिएको छ। शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।
घटनामा संलग्न रहेको आरोपमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुर अन्तर्गत अनुसन्धान सुरु गरिएको थियो। विस्तृत कारण र संलग्नताको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।