काठमाडौँ, ११ साउन २०८३।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरस्थित हिमालयन कलेज र बागबजारस्थित काठमाडौं मोडेल कलेज (केएमसी) मा फाइनान्स विषय अध्यापन गराउने ३३ वर्षीय सन्दीप सिंहलाई आइतबार पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भएका सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बाट नियन्त्रणमा लिई शिक्षा ऐन, २०२८ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा सिंहले साउन ८ गते एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ ‘अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनेटमै ह्वाट्सएप समूहमा सार्वजनिक गरेको खुलेको प्रहरीले जनाएको छ।
उक्त दिन प्रश्नपत्र बाहिरिएको भनिएको ह्वाट्सएप समूहका स्क्रिनसटहरू ‘टीयू स्टुडेन्ट्स’ नामक फेसबुक पेजमा समेत सार्वजनिक भएका थिए।
प्रवक्ता जबराका अनुसार प्रश्नपत्र सिंहले ह्वाट्सएपमा पठाएको देखिए पनि उनले प्रश्नपत्र कसरी प्राप्त गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
सीआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै बाँकी रहेकाले यस्ता गैरकानुनी गतिविधि दोहोरिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। प्रश्नपत्र चुहावट वा परीक्षासम्बन्धी गैरकानुनी कार्यमा संलग्न पाइए कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।