अनलाइनमार्फत पोखरामा पर्यटक घुमाउने प्रलोभन देखाएर ठगी गर्ने भारतीयसहितको गिरोह पक्राउ

अनलाइनमार्फत पोखरामा पर्यटक घुमाउने प्रलोभन देखाएर ठगी गर्ने भारतीयसहितको गिरोह पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ साउन २०८३
  • 1.3K
    Shares

पोखरा , १० साउन २०८३ ।

विभिन्न देशमा घुमाउन लैजाने प्रलोभन देखाउँदै अनलाइन तथा फोनमार्फत ठगी गर्ने गिरोहमा संलग्न एक भारतीयसहित दुई जना पोखराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगरका ३० वर्षीय Mohammed Yasheer मोहम्मद याशिर रहेका छन्।

उनीहरु लगायतको गिरोहले पोखरा महानगरपालिका–५, प्रस्याङस्थित पुस्पेन्द्र कोइरालाको घर भाडामा लिई विभिन्न व्यक्तिलाई एसिया र युरोप महादेशका देशहरूमा घुमाउन लैजाने भन्दै ठगी गरेको आरोप प्रहरीले लगाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, उनीहरूले ‘Oasis Tourism International’ नामको संस्था स्थापना गरी १५ जना युवायुवतीलाई समेत परिचालन गर्दै अनलाइन माध्यम तथा फोनमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने गरेका थिए। उनीहरूले ‘3N/4D Holiday Voucher, Fill & Win, Register & Win, Assured Gift’ लगायतका विवरण उल्लेख गरिएका कुपन भर्न लगाई रकम उठाउने गरेको अनुसन्धानबाट खुलेको छ।

हालसम्म करिब ३० जना व्यक्तिलाई एसिया र युरोपका विभिन्न देशमा भ्रमण गराउने प्रलोभनमा पारेर कुपन भर्न लगाई रु. नौलाख ६५ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यस्तै, १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई वैध काम भन्दै उक्त अवैधानिक गतिविधिमा संलग्न गराएको समेत प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूको साथबाट २ थान कम्प्युटर तथा मनिटर, विभिन्न रजिस्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्टेम्प छाप ४ थान तथा विभिन्न व्यक्तिको नाममा काटिएका कुपनका अर्धकट्टी बरामद गरेको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया