पोखरा , ८ साउन २०८३ ।
सिराहाको नवराजपुर गाउँपालिका–४ की २७ वर्षीया संजना कुमारी यादवमाथि अमानवीय घरेलु हिंसा भएको आरोप लागेको छ। मोबाइल फोनमा कुराकानी गरेको विषयलाई लिएर विवाद भएपछि श्रीमान्ले तातो फलामको रडले कुटपिट गरेको आरोपमा प्रहरीले उनका पतिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा संजनाका पति ३३ वर्षीय रामशंकर यादवलाई २०८३ साउन ६ गते पक्राउ गरिएको हो। पीडित संजनाले पति रामशंकर र देवर २७ वर्षीय श्यामसुन्दर यादवविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दर्ता गराएकी छन्।
कुटपिटबाट गम्भीर घाइते भएकी संजनाको उपचार नवराजपुर स्वास्थ्य कार्यालयमा भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय मानवअधिकारकर्मी तथा सरोकारवालाले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार पीडितका पतिलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ भने अर्का आरोपित श्यामसुन्दर यादवको खोजी भइरहेको छ।
अधिकारकर्मीहरूले पीडितलाई आवश्यक कानुनी सहायता, सुरक्षा तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घरेलु हिंसाविरुद्ध प्रभावकारी अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने उनीहरूको माग छ।