काठमाण्डौको महाराजगञ्जमा ईभी माइक्रोले नौ सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु, ६ जना घाइते

काठमाण्डौको महाराजगञ्जमा ईभी माइक्रोले नौ सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु, ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ साउन २०८३
  • 760
    Shares

काठमाडौं, ९ साउन २०८३ । काठमाडौंको महाराजगञ्जमा ईभी माइक्रोले एकपछि अर्को गर्दै ९ वटा सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ः१५ बजे काठमाडौं महानगरपालिका–३ स्थित प्रहरी वृत्त महाराजगञ्जअगाडिको सडकखण्डमा बसुन्धारा चोकबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रोले सोही दिशातर्फ गइरहेका विभिन्न सवारीसाधनलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा ईभी माइक्रो चालक लमजुङको सिद्धी गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ५६ वर्षीय रामकृष्ण हवाल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएकोमा उपचारमा संलग्न चिकित्सकले राति ८ः१० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनामा बा प्र०२–०५६ प ६३५५ नम्बरको ईभी स्कुटर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल कपन बस्ने ३७ वर्षीय सरोज ढुंगाना घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सोही स्कुटरमा पछाडि सवार उनकी ३५ वर्षीया श्रीमती बिनिता ढकालको दायाँ खुट्टा र बायाँ कानमा चोट लागेको छ। दुवै जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, बा ५५ प १०७८ नम्बरको मोटरसाइकल चालक उदयपुर घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३३ वर्षीय सूर्य मगरको दायाँ कुहिना र कम्मरमा चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार काठमाडौंको जोरपाटीका ६१ वर्षीय ज्ञानबहादुर सुनुवारको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ। दुवै जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

बा ४ ख ७८२४ नम्बरको गाडीमा सवार कालिकोट घर भई हाल कपन बस्ने ३५ वर्षीय गणेशबहादुर शाहीको कानमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बा प्र ०१–००२ ज ९५०२ नम्बरको ट्याक्सीमा सवार टोखा नगरपालिका–६ की ४४ वर्षीया पूर्ण गिरीको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा बा ४ ख ७८२४ नम्बरको भाडाको बस, बा १ य २२८६ नम्बरको टाटा विद्युत कार्यालय बसुन्धाराको गाडी, बा प्र ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रो, बा प्र०२–०५६ प ६३५५ नम्बरको ईभी स्कुटर, बा ५५ प १०७८ नम्बरको मोटरसाइकल, बा ७१ प २९६९ र बा ६४ प ३३११ नम्बरका मोटरसाइकल, बा २ ज २२०७ नम्बरको ट्याक्सी, बा प्र ०१–००२ ज ९५०२ नम्बरको ट्याक्सी तथा बा प्र ०१–०३४ च ८८६४ नम्बरको ईभी माइक्रोमा क्षति पुगेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको छ।

प्रतिक्रिया