तनहुँको छिर्कनेस्थित पृथ्वीराजमार्गमा हाईस दुर्घटना : आठ जना घाइते

तनहुँको छिर्कनेस्थित पृथ्वीराजमार्गमा हाईस दुर्घटना : आठ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ साउन २०८३
  • 1.9K
    Shares

तनहुँ, ८ साउन २०८३ ।

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा शुक्रबार दिउँसो हाईस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज अपराह्न करिब ४:२५ बजे काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार हाईसमा चालकसहित १२ जना सवार थिए। तीमध्ये ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका छन्।

लक्ष्मी अस्पताल, डुम्रेमा उपचाररत घाइतेहरू:

  • बाँकेको खजुरा गाउँपालिका–२ निवासी ३२ वर्षीय रमेश क्षेत्री (घाँटी, ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम)
  • काठमाडौंको नागार्जुन नगरपालिका–१ निवासी ५६ वर्षीया शशीकला अधिकारी (घाँटी र काँधमा चोट, अवस्था मध्यम)
  • कास्कीको पोखरा महानगरपालिका–११ निवासी ५५ वर्षीय दयाराम पोखरेल (दाहिने हातमा चोट, अवस्था सामान्य)
  • झापाको भद्रपुर नगरपालिका–१ निवासी ३५ वर्षीय तारा सुब्बा (ढाड र कम्मरमा चोट, अवस्था सामान्य)
  • दैलेखको डुंगेश्वर गाउँपालिका–२ निवासी २७ वर्षीय नवीन खड्का (ढाडमा चोट, अवस्था सामान्य)
  • सप्तरीको खडक नगरपालिका–४ अमाहा निवासी १७ वर्षीय उज्वल यादव (सामान्य चोट)

प्रदेश अस्पताल, दमौलीमा उपचाररत घाइतेहरू:

  • बझाङको जयपृथ्वी नगरपालिका–२ निवासी २९ वर्षीय माधव प्रसाद जोशी (सामान्य चोट)
  • बझाङको बित्थडचिर गाउँपालिका–८ निवासी २४ वर्षीय जीवन जोशी (सामान्य चोट)

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया