पोखरा, साउन ७ —
अबैध रुपमा माटो उत्खनन गरिरहेका एक एक्साभेटरसहित चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रमा लिएको छ।
शुक्रबार दिउँसो करिब २:३० बजे पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा माटो उत्खनन गरिरहेका एक एक्साभेटरसहित चार वटा सवारी साधनलाई प्रहरीले नियन्त्रमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा परेका सवारीसाधनहरुमा ग १ क ३७८८ नम्बरको स्काभेटर तथा ग १ ख ७७६६, बा १ क ८१७७ र लु १ ख २९२० नम्बर समेतका तीन वटा टिप्पर रहेको प्रहरीले बताएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा बुझाइएकोमा महानगरले रु. ७५ हजार रुपियाँ जरिवाना गरेर सवारीसाधन छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन र दोहनविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।